चुनावी सहकार्य गर्ने विषयमा प्रचण्ड र भट्टराईबीच छलफल



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । बिहीबार तीन नेताबीच भेटवार्ता भएको हो । भेटमा आगामी आम निर्वाचनमा मोर्चा बनाएर जाने बारे छलफल भएको बताइएको छ ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी मोर्चा बनाउने बारे छलफल गरिरहेको बेला नेपाल समाजवादी पार्टी पनि उक्त मोर्चामा सहभागी हुने प्रस्ताव बैठकमा डा. बाबुराम भट्टराईले गरेका छन् ।


उनले आगामी चुनावमा संयुक्त मोर्चा बनाएर एउटै चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुनेबारे प्रस्ताव गरेको बताइएको छ । एउटै चुनाव चिन्ह बनाउनेबारे गठबन्धनमा रहेका र मोर्चामा सहभागी हुन सक्ने अन्य दलका नेतासँग पनि छलफल गर्ने निष्कर्षमा तीन नेताहरू पुगेको बताइएको छ ।