चीन भ्रमणमा परराष्ट्रमन्त्रीले बिआरआई सम्झौता कार्यान्वयनको पहल गर्नुपर्छः झलनाथ खनाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेको बारे जानकारी गराउन बालुवाटार पुगेका खनालले प्रधानमन्त्रीसँगको भेटमा यस्तो बताएका हुन् । खनालले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकोले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनका आधारमा सिट बाँडफाँट गर्न आवश्यक रहेको बताए ।


उनले गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबै दललाई समान रुपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने बताए । उनले वाम एकताको लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनैपनि वृहत वाम एकताको सम्भावना नरहेको दाबी गरे ।

उनले भने, ‘गठबन्धनमा दलहरु जे आधारमा थपिन्छन्, त्यही आधारमा आवश्यक पर्ने ठाउँमा तालमेलको कुरा हुन्छ । तालमेल गर्दा प्रत्येक पार्टीको आफ्नो हैसियत हुन्छ । २०७४ को निर्वाचनको कुरा, भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनको परिणाम यी सबै आधारमा उभिएर सबैलाई समान हुने ढंगले हामीले तालमेल गर्नुपर्छ । सबैलाई समान हुने खालको तालमेलको बुटी बनाउन आवश्यक छ । वाम एकताको लागि सबैभन्दा ठूलो पार्टीले पहल गर्नुपर्ने हो, उसमा त्यो रुची मैले देखिनँ । वृहत वाम एकताको सम्भावना अहिले छैन ।’

खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन भ्रमणका क्रममा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका बारेमा जोड दिनुपर्ने बताए ।

उनले नेपाल एक चीन नीतिमा तटस्थ रहेको भन्दै हङकङ, ताईवान, तिब्बत चीनकै भएको दाबी गरे । उनले यी क्षेत्रमा जुनकुनै बेलामा पनि चीनले दाबी गर्नसक्ने बताए ।

उनले परराष्ट्रमन्त्रीले चीन भ्रमणमा नेपालले चीनबाट लिनसक्ने सहयोगको उचित फाइदा लिनका लागि पहल गर्नुपर्ने बताए । खनालले बेलाबेलामा नेपाल–चीन सीमा विवाद आइरहने भन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि गर्न पनि परराष्ट्रमन्त्रीको भ्रमणले सहयोग पुग्नेमा विश्वस्त रहेको बताए ।

उनले भने, ‘चीनका केही कोर इन्ट्रेसका कुराहरु छन् । चीनले सबै देशसँग हाम्रा कोर इन्ट्रेसलाई ध्यान दिनुस्, त्यसका आधारमा हामी मैत्रीपूर्ण सम्बन्ध र सहयोग राख्छौँ भन्ने कुरा गर्दै आएको छ । ऐतिहासिक रुपमा पनि हङकङ चीनको अभिन्न अंग हो । ब्रिटिसले लिएको थियो फर्काइसक्यो । ताइवान त अभिन्न अंग नै थियो । नेपाल एक चीन नीति र नेपालको भूमि कुनैपनि मित्रराष्ट्रबिरुद्धमा प्रयोग गर्न नदिने कुरामा हामी एकमत छौँ । परराष्ट्रमन्त्रीको चीन भ्रमण महत्वपूर्ण भ्रमण हो । हामीले छिमेकबाट लिनसक्ने लाभका बारेमा हामीले सोच्नुपर्छ । परराष्ट्रमन्त्रीको यो भ्रमणले केही राम्रा उपलब्धिहरु हासिल हुनेछ । बिआरआईको बारेमा सम्झौता भएको छ, केहीपनि कार्यान्वयन भएको छैन । सीमाको बारेमा पनि समस्या आउन खोज्छ, त्यसको समाधानको दीर्घकालीन आधार तयार पार्नुपर्छ । सम्भव हुने सहमतिका बारेमा पनि कुरा होस् भन्नेकुरा नेपाली जनताको चाहना हो ।’