नवलपुरका सात मतदानस्थल पुनरावलोकन



नवलपुर ।नवलपरासी पूर्वनवलपुरमा रहेका सात वटा मतदानस्थल पुनरावलोकनका लागि सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रमुख लालप्रसाद भुसालका अनुसार तीन पालिका भित्रका सात वटा मतदानस्थल पुनरावलोकनका लागि सिफारिस गरिएको छ ।

मतदानस्थल साँघुरो भएका, पायक पर्ने स्थानमा नभएकाको स्थल पुनरावलोकन गरिएको कार्यालय प्रमुख भुसालले बताए । स्थान पुनरावलोकन गर्दा सम्बन्धित वडाका पायक पर्ने र मतदानका लागि सहज हुने स्थान छनौट गरी नयाँ स्थान छनौट गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख भुसालले बताए । “स्थान पुनारावलोकन गर्दा सबैलाई पायक पर्ने, सुरक्षित र मतदान सञ्चालन गर्न सहज हुने ठाउँ छनौट गरेका छौँ”, कार्यालय प्रमुख भुसालले भने, “सोही आधारमा हामीले निर्वाचन आयोगमा सिफारीस गरेका छौँ ।’’


गैँडाकोटका चार, विनयी त्रिवेणीका–२ र हुप्सेकोटको एक मतदानस्थल पुनरावलोकनका लागि सिफारिस गरिएको छ । गैंडाकोट नगरपालिकाअन्तर्गत वडा नम्बर २ मा रहेको महेन्द्र स्मारक आधारभूत विद्यालय शिवनाथ चोकबाट एसपिएम कलेज एसपिएमा टोलमा, वडा नम्बर ३ मा रहेको कृष्णगण्डकी आधारभूत विद्यालयबाट वडा नम्बर ३ का कार्यालय ढोडेनी, वडा नम्बर ११ गणेश आधारभूत विद्यालय भेडाबारीबाट मुकुन्दपुर खानेपानी आयोजना भेडाबारी र गैँडाकोट–१३ को मुकुन्दपुर पुरानो गाविस भवनबाट जनशक्ति आधारभूत विद्यालय बेल्डियामा मतदानस्थल सार्ने गरी पुनरावलोकनका लागि निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।

विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा नम्बर ४ वेणीमणीपुर मैजाटोलबाट दीपेन्द्र मावि सर्दीमा र वडा नम्बर ५ को पुरानो धुरकोट गाविसको भवन देउरालीबाट भानुदय मावि चुकाहामा सार्ने गरी सिफारिस गरिएको छ । यसैगरी हुप्सेकोट गाउँपालिका–४ को भवनबाट ज्वाला मावि झ्यालवासमा मतदानस्थल कायम रहने गरी जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले पुनरावलोकनका लागि सिफारिस गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भुसालले बताए ।

मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या भने यथावत रहेको उनले बताए । हाल नयाँ मतदानस्थल थप गर्ने र केन्द्रको सङ्ख्या बढाउनुपर्ने आवश्यकता नदेखिएको कार्यालय प्रुमख भुसालले बताए । नवलपुरमा एक सय १३ मतदानस्थल र दुई सय ९९ मतदान केन्द्र रहेका छन् ।