रुसी सेनाको क्रुरताबाट जोगिन डोनेट्स्क क्षेत्र छाड्न राष्ट्रपति जेलेन्स्कीको आदेश



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको नियन्त्रणमा रहेका पूर्वी डोनेट्स्क क्षेत्रमा बसिरहेका सबै सर्वसाधारणलाई रुसी क्रुरताबाट जोगिनका लागि उक्त स्थान खाली गर्न आदेश दिएका छन् ।

शनिबार राति अबेर सम्बोधन गर्दै जेलेन्स्कीले उक्त क्षेत्रमा युद्ध अझै चर्किन सक्ने चेतावनी दिए । उनले भने,‘जति धेरै मानिसहरूले अहिले डोनेट्स्क क्षेत्र छाड्नेछन्, रुसी सेनासँग उति नै कम समय हत्या गर्नका लागि हुनेछ।’


उक्त क्षेत्रमा भीषण लडाइँहरू भएका छन्। उक्त क्षेत्रको अधिकांश भाग अहिले रुसको नियन्त्रणमा छ । रुसी सैनिकहरू अरू स्थानमा बिस्तारै अघि बढिरहेका छन् । उनका अनुसार अझै हजारौँ सर्वसाधारणहरू उक्त क्षेत्रमा फसेका छन् र अधिकारीहरूले उनीहरूलाई सहयोग जारी राखेका छन् ।

शुक्रबार रुसी आक्रमणमा परेर छ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । डोनेट्स्कमा रुससमर्थित पृथक्तावादीको नियन्त्रणमा रहेको अर्को क्षेत्रमा रहेका ५० युक्रेनी युद्धबन्दीहरूको मृत्युका विषयमा अनुसन्धान गर्न रुसले राष्ट्रसङ्घ र रेडक्रसका अधिकारीहरूलाई निम्तो दिएपछि जेलेन्स्की बोलेका हुन् । जेलमा भएको आक्रमणका क्रममा अस्पष्ट खालको परिस्थितिमा ती सैनिकहरू मारिएका थिए र दुवै पक्षले एकअर्कालाई आरोप लगाइरहेका छन् ।