फरक मतसहित छानबिन समितिको प्रतिवेदन तयार, भोलि सभामुखलाई बुझाइने



काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको विषयमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ उल्लेख छ । तर, यसमा फरक मत रहेको एमालेको समेत राय समेटेर प्रतिवेदन बुझाउने सहमति भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले शुक्रबार सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाउने निर्णय गरेको हो । समिति सचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र केही प्राविधिक कुरा मिलाएर शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिए।


समिति सदस्य खगराज अधिकारीले प्रतिवेदन अन्तिम टुंगोमा पुगेको र सबैका आफ्ना(आफ्ना विचारहरु राखिएको भन्दै सर्वसम्मत हुन नसकेको बताए।

प्रमुख प्रतिपक्षी एमालेले समितिलाई प्राप्त प्रमाण र बयानका आधारमा शर्मालाई निर्दोष भन्न नमिल्ने अडान राखेको छ भने सत्ता पक्षका सांसद प्राप्त प्रमाण र बयानले शर्माविरूद्धको आरोप प्रमाणित नगर्ने भएकाले उनी निर्दोष रहेको बताएका छन् ।

करका दर हेरफेरका विषयमा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा छानविन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो।  सुरुमा १० दिनको समय पाएको समितिको म्याद ७ दिन थपिएको थियो। समितिको म्याद आज सकिएको छ।