देशभर ५६४ जनामा सङ्क्रमण पुष्टि, एककाे मृत्यु



काठमाडाैँ । कोरोना भाइरसको सङक्रमण आज ५ सय ६४ मा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चार हजार चार सय ५४ परीक्षणमध्ये आज ५ सय ६४ मा सङ्क्रमण देखिएको बताए । उनका अनुसार काठमाडौँ उपत्यकाको ललितपुरमा ४१, भक्तपुरमा १७ र काठमाडौँ दुई सय अठार मा सङ्क्रमण देखिएको छ ।


सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार नौ सय २९ रहेको छ । विगत २४ घण्टामा २०२ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यस्तै सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

अहिलेसम्म होम आइसोलेसनमा तीन हजार सात सय ९४, संस्थागत आइसोलेसनमा एक सय ३५, सघन उपचार कक्ष (आइसियु)मा ३२ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको छ । यसैगरी विगत २४ घण्टामा एक लाख एक हजार छ सयले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।