संवैधानिक नियुक्तिविरुद्धका रिटमाथिको सुनुवाइ स्थगित



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका पालामा भएका विभिन्न संवैधानिक नियुक्तिविरुद्धका रिटमा बुधबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीका कानून व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ स्थगित भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी नियुक्त गर्ने तत्कालीन सरकारको निर्णयविरुद्ध दायर रिटमा बुधबारको संवैधानिक इजलासमा एकल सुनुवाइ हुने गरी पेसी तोकिएको थियो ।


कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा बुधबारदेखि अन्तिम सुनुवाइ सुरु हुने अपेक्षा गरिएको थियो । विपक्षीका कानुन व्यवसायी रहेका वरिष्ठ अधिवक्ता सुशील पन्तले विपक्षी निकायलाई म्याद जारी नभएको तथा उनीहरुबाट पनि लिखित जवाफ माग गर्नुपर्ने भन्दै इजलाससमक्ष प्रश्न उठाएका थिए ।

अख्तियार लगायत १२ विपक्षी निकायबाट लिखित जवाफ माग गर्ने आदेश माग गर्दै पन्तले बुधबार इजलासमा पूरक निवेदन समेत पेस गरेका छन् । नियुक्त गरिएका सबै पदाधिकारीहरूको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै दर्ता भएको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।