संचारमाध्यमलाई युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जन गर्न प्रधानमन्त्रीको सुझाव



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा सूचना र प्रविधिको दु्रतगतिमा विकास भइरहेको सन्दर्भमा हाम्रा सञ्चारमाध्यमहरूलाई पनि समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्ने बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्रीले जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्ने उल्लेख गरे ।


“यही मान्यतालाई आत्मसात् गर्दै नागरिकको सूचनाको हकलाई सुनिश्चित् गर्न राससले पनि आफ्ना सेवालाई थप चुस्त बनाउन सबै संयन्त्र र क्षमता परिचालन गर्न सकोस् भन्ने मेरो कामना छ” उनले भने।

राससले आफ्नो भौतिक विकाससँगै सूचनामा पहुँच बढाई सञ्चारमाध्यममार्फत देशवासीलाई सुसूचित गर्ने काममा अब्बलरूपमा आफूलाई स्थापित गर्न सक्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

रासस नेपालका आमसञ्चारमाध्यमलाई समाचार प्रदान गर्दै आएको सेवा प्रदायक समाचार संस्था हो । विसं २०१८ मा स्थापना भई नेपालका सञ्चारमाध्यमहरुलाई समाचार सेवा प्रदान गर्दै आएको राससले आफ्नो स्थापनादेखि नै नेपाली र अङ्ग्रेजी भाषामा स्वदेशी र विदेशी समाचार तथा तस्वीर उपलब्ध गराउँदै आएको छ ।

साथै हालै मात्र राससले टेलिभिजन एवं डिजिटल मिडियाका लागि श्रव्य दृश्य (भिडियो) सेवा पनि सुरु गरेकोे छ । प्रधानमन्त्री देउवाले देश र विदेशका सञ्चारमाध्यमलाई स्वदेशी र विदेशी समाचार उपलब्ध गराउँदै आएको राससले देशका बढीभन्दा बढी सञ्चारमाध्यममार्फत सूचना सम्प्रेषण गरी नागरिकलाई सूचना प्रदान गर्नुपर्ने बताए ।

उनले भने, “कुनै पनि नागरिकलाई सूचना दिनु भनेको उनीहरुको मौलिक हकको सम्मान गर्नु हो । वर्तमान सरकार यही मान्यतामा अडिग छ । सूचना नागरिकको कानुनी अधिकार मात्र नभएर उनीहरुको अवसर एवं ज्ञानको स्रोत पनि हो । त्यसैले कुनै पनि नागरिकलाई सूचनाबाट बञ्चित गर्नु भनेको उनीहरुलाई आफ्ना सम्भावना र अवसरबाट नै वञ्चित गर्नु हो भन्ने मान्यता राखेर राससले काम गर्नुपर्छ ।”

वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न कटिबद्ध रहेको उल्लेख गर्दै उनले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको बताए ।

सरकारको यो मान्यतालाई राससजस्ता समाचार प्रदायक संस्थाहरूले पनि सम्मान र विस्तार गर्नुपर्ने उनको भनाइ थियो । जहाँ लोकतान्त्रिक शासन प्रणाली छ, त्यहाँ मात्र प्रेस स्वतन्त्रता सम्भव हुने बताउँदै उनले यो वास्तविकतालाई ध्यानमा राखी लोकतान्त्रिक प्रणालीको पक्षधरतामा मुलुकको प्रेस उभिनुपर्ने उल्लेख गरे ।

राज्यको चौथो अङ्ग पत्रकारिता क्षेत्रको व्यवस्थित विकासका लागि विश्वासिलो, सत्य र तथ्यपूर्ण सूचना तथा समाचारको आवश्यकता पर्ने उल्लेख गर्दै राससले यो आवश्यकता धेरै हदसम्म पूरा गर्दै आएको प्रधानमन्त्री देउवा बताए ।

विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त रु १६ करोड ८६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । प्रधानमन्त्री देउवाबाटै २०७४ कात्तिक ९ गते शिलान्यास भएको ‘ब्लक ए’ र ‘ब्लक बी’ भवनमा ५४ कोठा छन् । चार तले यी भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन हुनेछ ।