एमालेद्वारा मङ्कीपक्सको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण



काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद भट्टराईले अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपक्स फैलिरहेको भन्दै सरकारले देशका सीमानाकाहरुमा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताए ।

सांसद भट्टराईले सरकारले कुनैपनि किसिमबाट मंकीपक्सकोबारेमा नागरिकलाई सुसूचित गर्न चासो नदिएको बताए । उनले जनस्वास्थ्यको कुरामा सरकार निन्द्राको अवस्थामा रहनु दुःखद् भएको बताए ।


उनले मंकीपक्सलाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरिसकेको अवस्थामा पनि सीमा नाकाहरुमा एउटा पनि साइनबोर्ड, परीक्षण केन्द्र नराखेको बताए ।

उनले भने,‘अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपक्सले हायलकायल बनाएको छ । हाम्रो सरकार नेपाल सरकारले यसबारेमा अहिलेसम्म पनि कुनै सार्वजनिक ढंगले नेपाली जनतालाई सुसुचित गरेको छैन । सरकार मौन बसिरहेको छ । सरकार निन्द्रको अवस्थामा छ । विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ । विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ । तर हाम्रा सीमा नाहरुमा एउटा पनि साइनबोर्ड राखिएको छैन । विमानस्थलहरुमा यसबारेमा कुनै सचेतना दिइएको छैन । सञ्चारमाध्यमहरुबाट सरकारले कुनै विज्ञापन, सूचनाहरु सार्वजनिक गरेको छैन । खुला सीमाना छ । भारतमा यस ४ वटा केसहरु देखिसकेका छन् । हामी पनि यसबाट धेरै टाढा छैनौँ । यसको भयानक अवस्थाबाट हामी टाढा छैन । यस खालको विपत्ति नआओस् भन्नका लागि पूर्व सतर्कता र तयारी अपनाउनका निम्ति ध्यानाकर्षण गर्दछु ।’

सांसद भट्टराईले ३४ जनामा अहिलेसम्म हैजा फेला परेको भन्दै काठमाडौंको समुदायमा हैजा फैलिसकेकोले महामारीको स्थिति उत्पन्न भएको बताए ।