काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले नागरिकता सम्बन्धी विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको बताएकी छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक माथिको छलफलमा भाग लिँदै पौड्यालले विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको बताएकी हुन् ।
उनले राज्य व्यवस्था समितिमा २२ महिना छलफल भएर ल्याइएको विधेयकलाई फिर्ता गरेर अर्को विधेयक ल्याइएको भन्दै प्रक्रियाप्रति आफ्नो असहमति रहेको स्पष्ट पारिन् ।
उनले विधेयक प्रक्रिया मिचेर ल्याउनुले संसदको अवमूल्यन गरिएको बताइन् । त्यस्तै सांसदहरुको स्वविकेकको निर्णय गर्ने अधिकारको पनि अवमूल्यन भएको उनको भनाई छ ।
उनले भनिन्, ‘यो प्रक्रियामा एकदमै धेरै असहमति छ । जुन तरिकाले प्रतिनिधिसभाबाट हाम्रो सभामा आएको छ, त्यो प्रक्रियामा मेरो असहमति छ । यो विधेयक पहिलेको सरकारले प्रतिनिधि सभामा पेस गरेर २२ महिना प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफल भएर एउटा निचोडको अवस्थामा आएर प्रतिवेदन आइसकेपछि अहिलेको सरकारले त्यही प्रतिवेदनलाई केही सच्याउनैपर्ने प्रावधान भए त्यही प्रतिवेदनमा संशोधन गरेर, संशोधन गर्न लगाएर समितिबाट फिर्ता ल्याउनसक्यो । त्यो विधेयकलाई फिर्ता लगेर कसको दबाब, कसको इन्छा, कसको चालमा के भइराखेको छ थाहा छैन । तर नागरिकताजस्तो संवेदनशील विषयमा सरकारले बलमिच्याइ गरेको छ । सरकारले बलमिच्याइँ मात्रै गरेको छैन । संसदको अवमूल्यन गरेको छ ।’
उनले वैवाहिक अंगिकृतको सात वर्षे प्रावधान हटाइएकोमा पनि बिरोध गरिन् । पौड्यालले छोराले विदेशी बुहारी ल्याउँदा सहजै नागरिकता पाउने तर छोरीले विदेशीसँग विवाह गरेमा नागरिकता दिने व्यवस्था नराख्नुको लैंगिक विभेद र पितृ सत्ताको बलमिच्याइँ प्रष्ट रुपमा देखिएको बताइन् ।