मालिकार्जुन गाउँपालिकाद्वारा मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक



दार्चुला । मालिकार्जुन गाउँपालिकाले सार्वजनिक स्थानमा मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभरिका सार्वजनिक स्थानको १०० मिटरभित्र मदिरा तथा सूर्तीजन्य वस्तु बिक्री वितरणमा रोक लगाएको हो ।

मदिरा बिक्री वितरण ऐन २०३१ तथा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ बमोजिम सार्वजनिक स्थानको कम्तीमा १०० मिटरभित्र बिक्री वितरणमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष हीरासिंह धामीले जानकारी दिए ।


गाउँपालिकाले वडा कार्यालय, पालिका कार्यालय, विद्यालय क्षेत्र वरपर मदिरा तथा सूर्तीजन्य वस्तु बिक्रीवितरण तथा ओसारपसारमा पनि बन्देज लगाएको छ । यसअघि वडा नं ५ मा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो । मदिराका कारण समाजमा विकृति बढ्दै गएकाले रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।