काठमाडौँ । पूर्व मुख्यसचिव लीलामणि पौडेलले प्रतिनिधिसभावाट पारित गरिएको नागरिकता विधेयक समितिमा दफावार छलफलमा नपठाइ हुन्छ र हुन्न भन्दै पास गर्नु आपत्तिजनक रहेको बताएका छन् । आइतबार सामाजिक संजालमार्फत पौडेलले विधेयकलाई अब राष्ट्रिय सभाले फिर्ता गर्नुपर्ने पनि बताएका हुन् ।
उनले भनेका छन्,’ दुई वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लिएर सरकारले संसदीय समितिका सिफारिस उल्टाएर नयाँ विधेयक पेश गर्नु र नयाँ विधेयक समितिमा दफावार छलफलमा नपठाइ हुन्छ र हुन्न भन्दै पास गर्नु आपत्तिजनक छ। दलहरूको विकल्प भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने र वैकल्पिक शक्तिको चाहना राख्ने नयाँ दलहरूले नागरिकता जस्तो राष्ट्रको सर्वोपरि चासोको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दैनन् भने उनीहरू सदनमा जानुको औचित्य पुष्टि हुदैन।’
उनले विधेयकलाई सार्वजनिक बहसमा ल्याउनसमेत माग गरेका छन् । उनले भने, ’विधेयक राष्ट्रिय सभाले फिर्ता गरोस् ! विधेयकलाई सार्वजनिक बहसमा ल्याएर आम नागरिकले पनि विधेयकका बारेमा आफ्नो विचार संसदमा अभिलेख गर्न सक्ने र समितिमा पुन छलफल गराइ सुझाव लिएर सांसदले लिखितमै आफ्नो मत स्वतन्त्र ढङ्गले राख्न पाउने गरी पारदर्शी मत विभाजन गराएर विधेयक पास गराउ सरकार !’