काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको भन्दै खोटाङको एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरेका छन् ।
शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय विभागमा न्यायाधीश रहेको दाबी गरेका हुन् । उनले न्यायालयमा पनि कांग्रेस रहेको भन्दै अहिलेसम्म राजीनामा दिएको कुरा नसुनिएको बताए ।
उनले भने,‘कांग्रेस सबै ठाउँमा छन् त। कांग्रेसका केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन् ? राजीनामा दिएको सुनिँदैन त।’ उनले सरकारले ल्याएको बजेट भ्रष्ट भएको बताए। सीसीटीभीको फुटेज हटाउनु नै यसको ठूलो प्रमाण रहेको उनको भनाइ थियो ।
उनले चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाए । अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताए । उनले सो सम्बन्धमा त्यसबाहेक अन्य कुनै लजिक छ भनि सरकारलाई प्रश्न गरे ।
उनले काँग्रेस नेतृत्वको विगतका सरकारप्रति संकेत गर्दै मुलुकको उद्योगधन्दा निजी क्षेत्रलाई कौडीको मुल्यमा बेचेर राष्ट्रलाई कंगाल बनाएको बताए । ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरुको प्रवद्र्धनलाई बढावा दिने नीति लिएको बताए ।
उनले भने, ‘अहिले ७० बाट ६८ बनाउनुको इज दियर एनि लजिक ? चुनाव आउँदैछ भन्ने बाहेक अन्य केही छ लजिक ? यतापट्टि धेरै नजाउँ । अहिले त मैले धेरैकुरा भनिरहनु पर्लाजस्तो लाग्दैन । हामीले कृषिको उत्पादन कसरी बढाउने, त्यस सन्दर्भमा उद्योगलाई कसरी बढावा दिने ? आठ वटा त हामीले विशेष खालका औद्योगिक क्षेत्र तयार ग¥यौं । त्यसमा सुविधाका कुराहरु अगाडि बढायौं । र, औद्योगिक क्षेत्रलाई कसरी बढावा दिने, प्राईभेटाईजेशनका नाममा भएका उद्योग बेचेर खाने नीति हामीले लिएनौं । हामीले निजी क्षेत्रलाई पनि संगै लिएर हिँडने नीति, प्रोत्साहित गर्ने नीति लियौं तर कौडीमा मोलमा राष्ट्रलाई कंगाल बनाउने काम गरियो ।’
ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले मुलुकको समृद्धिका लागि स्पष्ट बाटो लिएको स्मरण गर्न पनि विज्ञहरुलाई आग्रह गरे ।