बिपी राजमार्गको आकस्मिक सूचनाप्रणाली ‘सूचनाविहीन’



काभ्रे । सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गमा सात वर्षदेखि अलपत्र आकस्मिक सूचनाप्रणाली (ईआइएस) बोर्डमा अझै आवश्यक सूचना अद्यावधिक गरिएको छैन । गतवर्ष उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि आवश्यक सूचना दिन नसकिएको सडक विभागले जनाएको छ ।

राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तत्कालीक अवस्थाबारे जानकारी दिने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेललगायतका सिन्धुलीको बर्दिबाससम्म पाँच स्थानमा डिजिटल सूचना बोर्ड राखिएको थियो ।


राजमार्ग प्रवेशस्थल धुलिखेलस्थित बोर्डमासमेत मौसमअनुसारको सूचना अद्यावधिक गर्न नसकेको विभागका इञ्जिनीयर अनन्त बरालले बताए । उनका अनुसार धुलिखेल र सिन्धुलीको खुर्कोटका दुई बोर्ड मात्रै केही महिनादेखि सामान्य सूचनाबाहेक सडकको अवस्था, प्राकृतिक प्रकोप तथा दूर्घटनाबारे डिस्प्ले गर्न नसकिएको हो ।

“राखेर प्रयोगमा नल्याइएका बोर्डमर्मत गरी सञ्चालनमा ल्याउने तयारी गर्दैछौँ, दुई वटामा समान्य सूचना दिन सकिने बनायौँ चालु आर्थिक वर्षभित्र अन्य तीन वटालाई सञ्चालनमा ल्याउने प्रयासमा छौँ”, बरालले भने । उनका अनुसार सडक खण्डखण्डमा सूचना दिन अझ छुट्टै प्रणालीको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

ईआइएस् व्यवस्थित गरिएको छ वर्षपछि सञ्चालनमा चासो राखेको विभागले उक्त राजमार्गको आकस्मिक सूचनाप्रणाली प्रविधिलाई अझै पनि निरन्तरता दिन नसकेको जनाएको हो । हाल धुलिखेल र खुर्कोटको डिजिटल बोर्डमा ‘सवारी चलाउँदा सचेत रहनुस्’, ‘ट्राफिक नियमको पालना गरौँ’ जस्ता सामान्य सूचना मात्रै डिस्प्ले भइरहेका छन् ।

उक्त प्रविधिलाई पूर्णता दिई सञ्चालनमा ल्याउन विभागले गतवर्ष जाइका एक्सपोर्टस् टिमलाई अध्ययन स्वीकृत दिएको थियो । उसको प्रतिवेदनपछि प्रणालीलाई निरन्तरता दिने योजना बनाइएको जनाइएको छ ।

विभागले सडक निर्माणकर्ता जाइकाले सडकसँगै उक्त प्राणालीको विकास गरेको तर केही समयपश्चात उक्त प्रविधिलाई जनशक्ति अभाव तथा अन्य प्राविधिक समस्याका कारण निरन्तरता दिन नसकिएको जनाउँदै आएको छ । यस्तो प्रणालीले राजमार्गको अवस्था तथा आकस्मिक घटनामा तत्काल उद्धार गर्न सकिने संयन्त्र निर्माण गर्न सकिने अपेक्षा गरिएको थियो ।

बिपी राजमार्गलक्षित सङ्घीय राजधानी काठमाडौँबाट अरनिको राजमार्ग प्रवेशक्षेत्र कोटेश्वरमा समेत सूचना बोर्ड राखिएको छ । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलबाट दायाँतर्फ बिपी राजमार्ग सुरु हुन्छ ।

राजमार्गमा वर्षा, बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप तथा सडक दुर्घटनाबारे तत्काल मोबाइल, वेबसाइटमा जानकारी आउने व्यवस्था मिलाइने योजना बनाइएको थियो ।

यही जानकारी राजमार्गको वेभसाइट तथा कोटेश्वर, धुलिखेल, खुर्कोट, सिन्धुली र बर्दिबासमा रहने सूचना बोर्डमासमेत हेर्न सकिने प्रविधि जडान गर्ने आयोजनाको लक्ष्य थियो । विभागका अनुसार पाँचै स्थानमा डिजिटल सूचना बोर्ड राखिएको छ ।

राजमार्गको अवस्थाबारे मोबाइल तथा वेभसाइटमा जानकारी लिनसक्ने गरी सात वर्षअघि उक्त प्रविधि जडान गर्न सडकखण्डको विभिन्न स्थानमा सूचनाप्रविधिका भौतिक पूर्वाधारलगाययत संरचना निर्माण तथा व्यवस्थापन गरिएको हो । यतिमात्र होइन, वेभसाइट र सडकमा रहेका इलेक्ट्रिकल बोर्डका सूचना हेरेर पनि यात्रा तय गर्न सकिने योजनासमेत बनाइएको थियो ।

त्यसबेला राजमार्ग सञ्चालन तथा मर्मत–सम्भारका लागि स्थापित उप–आयोजनाले यस्तो प्रणालीको विकास गरेको थियो । एन्ड्रोइडमा आधारित मोबाइल एप्लिकेशनसहित वेभसाइट र ईआइएस्लाई इञ्जिनियररिङ सफ्टवेयर कम्पनी सफ्टवेल प्रालिले ‘प्रणाली’समेत तयार पारिसकेको जनाइएको थियो । यो मार्गलाई नेपालकै नमूना बनाउन यस्तो प्रणालीको विकास गरिएको आयोजनाले जनाउँदै आएको छ ।

यस प्रणालीअन्तर्गत चारवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफेल अब्जर्भेसन सिष्टम’ले निरन्तर रुपमा वर्षात्को मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ । यस्तो केन्द्र काठमाडाँै थापाथलीस्थित उप–आयोजना कार्यालय, भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालय तथा सिन्धुलीमा रहने व्यवस्था गरिएको आयोजनाले जनाएको थियो ।

उक्त प्रणालीअन्तर्गत डाटा सेन्टरमा निरन्तर आउने प्रकोपका विवरण जिपीआरएस् मोडेममार्फत मोबाइल, वेभसाइट र सडक सूचना बोर्डमा आफैँ अपडेट हुन्छ । यी विवरणहरु एलइडी डिस्प्लेयुक्त बोर्डमा नेपाली र अङ्गे्रजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो । चौबीसै घण्टा विवरण अपडेटमा लोडसेडिङले समस्या हुनसक्ने जनाउँदै सबै केन्द्रमा सौर्यशक्ति (सोलार)मार्फत विद्युत् आपूर्ति हुने व्यवस्थासमेत मिलाइएको छ ।

यस वर्ष मनसुन निकै सक्रिय भएको छ । गत जेठमै भारी वर्षाका कारण हप्तासम्म पनि राजमार्ग अवरुद्ध हुन पुगेको थियो । उक्त प्रणालीमार्फत विपी राजमार्ग सडकको अवस्थाबारे तत्काल यात्रुलगायत सरोकारवालाले जानकारी पाउनसके सहज हुने अपेक्षा गरिँदै आइन्छ । उक्त राजमार्ग हाल राजधानीबाट पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रुपमा रहेको छ । धुलिखेलबाट विसं २०५४ देखि बनेपा–सिन्धुली बर्दिबास १६० किलोमिटर सडक विस्तार गरिएको थियो ।