बेँसीसहर–चामे सडक सञ्चालन



लमजुङ । बेँसीशहर–चामे सडक मर्मत कार्यका लागि एक हप्ताका लागि बन्द भनिए पनि आज साँझदेखि सवारी सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्य गर्नका लागि एक हप्ताका लागि बिहीबार बिहान ८ बजेदेखि बन्द रहे पनि पुरानो बाटोबाट सडक सञ्चालन भएको हो । यो सडक करिब चार दिन भने पूर्णरूपमा बन्द रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले भने, “सो स्थानमा मर्मत एवं ढलान कार्य जारी छ, तर आंशिकरूपमा सवारी सञ्चालनमा आएको छ ।” पुरानो बाटोबाट सवारी सञ्चालन गरेसँगै यतिबेला सवारी आवतजावत भइरहेको उनको भनाइ छ । स्याङ्गेमा सडक ढलान कार्य जारी रहे पनि सोही स्थान माथि पुरानो सडकबाट सवारी सञ्चालन हुँदा यात्रुहरु हर्षित भएका छन् ।


डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युतविलास पन्तका अनुसार १५० मिटर सडक ढलान गर्नका लागि अघि बढेको छ । सङ्घीय सरकारको रु ६० लाख बजेटमा श्रीकृष्ण निर्माण सेवाले निर्माण गरिरहेको उहाँको भनाइ छ । ६५ किलोमिटर दूरी रहेको बेँसीसहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ ।