निर्वाचनमा पार्टीभित्र भएको अन्तरघातबारे छानबिन गर्न माओवादीले बनायो समिति



काठमाडौँ । नेकपा मावोवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तरघातकाबारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समितिको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तरघातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले स्थानीय चुनावमा पार्टी भित्रैबाट घात अन्तरघात भयो भन्ने आवाज उठेको र कतिपय केन्द्रीय सदस्यहरुले नै निर्वाचनमा अन्तरघात गरेको भन्ने आवाज उठेको भन्दै छानबिन समिति गठन गरिएको जानकारी दिए । समितिमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य छन् ।


प्रवक्ता महराले पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि पूर्व विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकालको सुझाव समिति गठन गरिएको जानकारी दिए ।

त्यस्तै बैठकले प्रदेश कमिटी र केन्द्रको बीचमा समन्वय कायम गर्नका निम्ति प्रदेश इञ्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति पनि बनाएको छ । आगामी संघ र प्रदेशको चुनावसम्म रहने गरी बनेको प्रदेश समन्वय समितिमा सबै केन्द्रीय सदस्यहरु र सबै प्रदेशका पदाधिकारी रहने प्रवक्ता महराले बताए ।

उनले बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रदेशको प्रशिक्षण कार्यक्रम र बैठकहरु गर्ने निर्णय भएको बताए । प्रवक्ता महराले प्रदेश र केन्द्रलाई बलियो बनाउनका लागि साउन १८ गते गण्डकी, २० गते प्रदेश १, २४ गते लुम्बिनी, २९ गते कर्णाली, २८ गते सुदूरपश्चिम, ३० गते विशेष, १ गते सम्पर्क समन्वय, ३ गते प्रवास बैठक तथा प्रदेश प्रशिक्षण कार्यक्रम राखेको बताए । पोलिटब्यूरो, स्थायी कमिटी, पदाधिकारी चयनमा आइरहेको समस्याको समाधान १५ दिनभित्र भइसक्ने दाबी उनले गरे ।