गणपूरक सङ्ख्या नपुग्दा १५ मिनेट बैठक स्थगित



काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ ।‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न लाग्दा गणपूरक सङ्ख्या नपुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरेपछि सभामुख सापकोटाले बैठकमा ३ मिनेट जनाऊ घण्टी बजाएर सांसदहरूको सङ्ख्या यकीन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए । जनाउ घण्टीपछि सांसदहरूको कम्तिमा एक तिहाई अर्थात् ६९ जना हुनुपर्नेमा उपस्थिति सांसदहरूको सङ्ख्या ६५ जनामा मात्र देखिएकाले बैठक स्थगित भएको हो ।