आईजीपी नियुक्ति विवादको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेशी असार २६ गते



काठमाडौँ । सर्वोच्च अदालतले आईजीपी विवादमा अर्को पेसी असार २६ गतेका लागि तोकेको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा हेर्दा हेर्दै रहेको मुद्दामा असार २६ गतेका लागि अन्तिम बहसको पेसी तोकिएको हो ।

सर्वोच्चले असार २३ गतेसम्म बहस नोट बुझाउने र २६ गते पेसी राखेर अन्तिम सुनुवाई सक्दै फैसला सुनाउने समय तोकेको हो। केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाई चलिरहेको छ ।


आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै एआइजी विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले उनको सट्टा धिरजप्रताप सिंहलाई आईजीपी बनाएको थियो ।

आइतबार सर्वोच्चमा सिंहको पक्षमा बहस भएको थियो। सिंहको पक्षमा भएको सरकारको निर्णयको बचाउमा वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रामनारायण विडारी, तुलसी भट्ट र अधिवक्ताहरू डा. भीमार्जुन आचार्य, टीकाराम भट्टराई र दीपेन्द्र झा लगायत १८ जनाले बहस गरेका थिए।