भेरोसेल खाेप आजबाट लगाइँदै



२९ असार । कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा खोप मङ्गलबारबाट लगाउन सुरु गरिएकाे छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पहिलो चरणमा ५५ वर्षमाथिका सबै व्यक्तिलाई भेरोसेल खोप दिने निर्णय गरेको छ । स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले भेरोसेल खोप बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा लगाइने जानकारी पनि दिएका छन् ।


उनले पहिलो चरणमा विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकलाई पनि यसैपटक भेरोसेल खोप दिने बताएका छन् । उनले मन्त्रालयले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि खोप दिने निर्णय गरेको जानकारी दिएका छन् ।



डा. गौतमले कोभ्याक्स सुविधाअन्तर्गत आएको जोन्सन एन्ड जोन्सनको जानसेन खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिका लागि लगाउने निर्णय भएको बताएका छन् । उनले सो खोप अर्को हप्ताबाट मात्र सुरु गरिने जानकारी दिएका छन् । जोन्सन एन्ड जोन्सनको खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलाई लगाइनेछ । जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा लगाए पुुग्छ ।