मन्त्रिपरिषद पुनर्गठन, यी हुन् एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गरेकाे जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 

कार्यविभाजन अनुसार पाँच जना नयाँ अनुहार मन्त्रिपरिषद्‍मा समावेश भएका छन्। जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या  र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । 


त्यसैगरी मन्त्रिपरिषद्‍मा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी हिराचन्द्र केसीले पाएका छन् । 

मन्त्रिपरिषद् हेरफेरपछि प्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री रहनुभएकाे छ। नवनियुक्त मन्त्रीको शपथ सोमबार बिहान ११ बजे हुने जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिए । 

को को बाहिरिए ?

नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मन्त्री बन्नुभएका प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसन श्रेष्ठलाई बिदा गर्दै प्रधानमन्त्री देउवाले पाँच जना नयाँ अनुहारलाई नियुक्त गरेका हुन् ।