बेँसीशहर–चामे सडकको स्तरोन्नति



लमजुङ । मनाङ र लमजुङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकको स्तरोन्नति एवं कालोपत्र गर्ने कार्य २३ प्रतिशत सम्पन्न भएको छ।  

बेँसीशहर–चामे सडक अन्तर्गत बेँसीशहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्नका लागि पहिलो चरणको कार्य हालसम्म सम्पन्न भएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए।  


उनका अनुसार सडक चौडाइ गर्ने, पर्खाल उठाउने, कटिङ गर्ने, कल्भर्ट बनाउने, नाली बनाउने लगायतका काम भइरहेको छ । पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र मान्छे हिँड्ने उक मिटरको सडक चौडाइ हुनेछ। बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एकतर्फ मात्र नाली निर्माण हुने भएको छ।

ट्याक खोलेको करिब २७ वर्षमा बेँसीशहर–चामे सडक कालोपत्र कार्य अघि बढेको छ। स्थानीय श्रमदान र सरकारी निकायबाट सहयोग मागेर लमजुङवासीले विसं २०५१ मा यस खण्ड अन्तर्गत बेँसीशहरदेखि खुदीसम्म मोटरबाटोको ट्याक खोलेको यस खण्डमा यतिबेला कालोपत्रका लागि धमाधम काम भइरहेको हो।  

आशिष अनेस्ट जेभी चितवनले विसं २०८० असार २९ गतेसम्म कालोपत्र गर्ने गरी गत वर्ष असार ३० मा सम्झौता गरेर काम अघि बढाएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कूल  ५२ करोड ९६ लाख रुपैयाँको लागत अनुमान गरिएको उक्त सडक रु २५ करोड ३२ लाख रुपैयाँमा कालोपत्र गर्ने सम्झौता गरिएको छ।