खरको छाना विस्थापित गर्न जस्तापाता वितरण



जाजरकोट । आठबिसकोट नगरपालिका रुकुमपश्चिमले नगरपालिकालाई खरको छानामुक्त बनाउने काम अघि बढाएको छ ।  

 नगरपालिकाले पहिलो चरणमा नौ सय घरपरिवारलाई जस्तापाता वितरण गरेको छ । नगरप्रमुख रवि केसीले खरको छानाका कारण आगलागी बढी हुने र मानवीय क्षतिसमेत हुने भएकाले जस्तापाता वितरण गर्ने कार्यक्रम ल्याएको बताए । आजदेखि नगरपालिकाभर जस्तापाता वितरण गर्न थालिएको उनको भनाइ छ ।  


नगरपालिकाले खरका छाना भएका घरको सङ्ख्या भने पहिले नै सङ्कलन गरेको थियो । वडा १ मा ५०,  २ मा ४६, ३ मा ८७, ४ मा ४४ घरपरिवारलाई वितरण गरिने छ । त्यस्तै, वडा ५ मा ५१, ६ मा ५५, ७ मा ४३, ८ मा ३६ र ९ मा ५३ घरपरिवारलाई जस्तापाता वितरण गरिने छ । वडा १० मा ७१, ११ मा ७२, १२ मा ५८, १३ मा ४१ र  १४ मा ४० घरपरिवारलाई जस्तापाता वितरण गर्ने नगरपालिकाको योजना छ । अतिविपन्न घरपरिवारलाई समेत जस्तापाता वितरण गरिने नगरपालिकाले जनाएको छ । 

नगरपालिकामा फुसका छाना हटाइ जस्तापाताको छानो राख्ने कार्यक्रमअन्तर्गत रु १३ करोड बजेट विनियोजन गरिएको छ । पहिलो चरणमा नौ करोडको जस्तापाता खरिद गरिएको र बाँकी आवश्यकताका आधारमा थप जस्तापाता खरिद गरिने पनि नगरपालिकाले बताएको छ ।