फेरि एकपटक प्रधानमन्त्री हुने प्रचण्डको चाहना



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् । नेपाल पर्वतारोहण संघले शुक्रबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन् ।

उनले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढ्ने बताए । प्रचण्डले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको बताए ।


उनले भने, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो । यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौं महिला बिति गो । एउटा नयाँ परिस्थिति बन्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । मलाई त्यसमा गर्व छ । देशका राष्ट्रिय एकतानै के हुने हो भन्ने बेलामा मधेशलाई पनि विश्वासमा लिएर निर्वाचनतिर देश लैजाने कुरा सानो कुरा थिएन । तर तपाईहरुले भन्नु भयो, तपाईंहरुले भनेको कुरा तपाईंहरुको आशिर्वाद हो भने अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखापरेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना छ । किनकी मेरै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको छ ।’

उनले मुलुकमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दाे माध्यम भएको बताए ।