पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै भाडा समायोजनको पहल



काठमाडौँ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायातको भाडा समायोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको सातौँ महाधिवेशन तथा १५ औँ साधारणासभाको आज यहाँ उद्घाटन गर्दै अन्तर्राष्ट्रियरूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण नेपालमा पनि मूल्यवृद्धि गर्नुपर्ने बाध्यता भएको प्रस्ट्याए ।


आवश्यकताको आधारमा यातायातको भाडा वृद्धि गर्ने तयारी भइरहेको उनले जानकारी दिए । उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै अब विद्युतीय यातायात सञ्चालन गर्ने प्रक्रिया पनि अगाडि बढेको छ, त्यसको लागि सुरुमा चार्ज स्टेसनको व्यवस्था गर्ने र त्यसपछि मात्रै त्यहीअनुसार ट्याक्सीको व्यवस्था गरिने छ ।’

महासङ्घले भारतीय ट्रक नेपाल आगमनलाई व्यवस्थित गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै समयअनुकूल भाडादर वृद्धि गर्नुपर्ने, काठमाडौँ उपत्यकाभित्र ट्रक पार्कको व्यवस्था गर्नुपर्ने, दुर्घटनापछिको समस्यालाई सहज बनाउनुपर्ने र जाँचका क्रममा सुरक्षा निकायबाट हुने अनावश्यक कष्ट हटाउनुपर्नेलगायतका माग गरेको छ ।  

‘अहिले बागमती प्रदेश सरकारले चालक, सहचालक र केही श्रमिकको लागि ‘सवारी कसरी चलाउन सकिन्छ’ भन्ने शीर्षकमा सुरक्षा निकायसहितको अभिमुखीकरण कार्यक्रमको निम्ति बजेटको व्यवस्था गरेको छ’, प्रदेश मन्त्री दाहालले भने।  

काठमाडौँभित्र ट्रक पार्कको निम्ति जग्गाको समस्या भएको बताउँदै उनले हेटौँडामा व्यवस्थित ट्रक पार्कको निम्ति पहल भइरहेको जानकारी गराए । महाधिवेशनले २१ सदस्यीय महासङ्घको नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा महासङ्घमा आबद्ध देशभरका झण्डै ५०० ट्रक व्यवसायीको सहभागिता छ ।

हाल देशभर ७० हजार ट्रक व्यवसायी छन् भने सो क्षेत्रमा १५ खर्ब लगानी रहेको महासङ्घका महासचिव एवं प्रवक्ता राजेन्द्रविक्रम बानियाँले जानकारी दिए ।