भारतको आसाममा बाढीपहिरोबाट करिब ५५ लाख प्रभावित, मृत्यु हुनेको संख्या १०१ पुग्यो



भारतको उत्तरपूर्वी राज्य आसाममा आएको बाढीले ५४ लाख ५० हजार भन्दा बढी मानिस प्रभावित भएका भारत सरकारले जनाएको छ । बिहीबारसम्म बाढीपहिरोका कारण १०१ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार जनाएका छन् ।

बर्षापछि थुप्रै ठाउँमा डुबान भएको छ भने ठाउँठाउँमा पहिरो गएर पाइपहरू बगाइदिँदा कतिपय स्थानमा खानेपानीको अभावसमेत देखिएको छ । बुधबार राज्यभर १२ जनाको मृत्यु भएको स्थानीय समाचारमा जनाइएको छ । बाढीले आसाममा बाढी आउन थालेपछि मे महिनाको मध्यदेखि मृत्यु हुनेको संख्या १०१ पुगेको छ ।


हाल राज्यका ३२ जिल्ला बाढीबाट प्रभावित छन् । प्रभावित जिल्लामा झण्डै पाँच हजार गाउँ डुबानमा परेको र ९९ हजार २६ हेक्टर क्षेत्रफलमा बाली क्षेत्रमा क्षति पुगेको अधिकारीहरुले बताए । स्थानीय तहले प्रभावित जिल्लामा १ हजार ८७१ राहत शिविर र वितरण केन्द्र स्थापना गरेका छन् । शिविरमा सात हजार ९७८ बालबालिकासहित २७ हजार १२५ जनाले आश्रय लिइरहेका बताइएको छ ।

प्रभावित जिल्लाका स्थानीय प्रशासनले उद्धार र राहत कार्यलाई तीव्रता दिएको बताइएको छ । ठाउँठाउँमा हेलिकोप्टर प्रयोग गरी राहत सामग्री उपलब्ध गराइएको छ । मनसुनको समय आसाममा वर्षेनी बाढीले हजारौँ व्यक्ति प्रभावित हुनेगरेका छन् ।

Powered By  Orson Infotech