रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा उजुरी



काठमाडौँ । ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

रवि लामिछानेले मंगलबार निर्वाचन आयोग ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको लागि निवेदन दिएका थिए । ‘स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्ने गरी नाम राखिएको भन्दै स्वतन्त्र उम्मेदवारी अभियानले आयोगमा उजुरी दिएको हो ।


स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले आयोगलाई पत्र लेख्दै ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्द प्रयोग गर्न आग्रह गरेका हुन् ।

साहुले प्रमुख निर्वाचन आयुक्तलाई लेखेको पत्रमा भनिएको छ, ‘कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्रको उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ । परम्परागत राजनीतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजन सहितका युवाहरु राजनीतिमा आउनु स्वागत योग्य रहे पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरुले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा स्वतन्त्र शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु।’