न्यायाधीशले घुस डिल गरेको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्को आकस्मिक बैठक बोलाइयो



काठमाडौँ । न्यायाधीश वकिलबीचको ‘रकम लेनदेन’को अडियो बाहिरिएसँगै कामु प्रधानन्यायाधीशले न्यायपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार अपराह्न १ः३० बजेका लागि परिषद्को आकस्मिक बैठक बोलाएका हुन् । 

काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको छ । न्यूज २४ टिभीले मंगलबार साँझ अडियो सार्वजनिक गरेको हो ।


सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् । त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् । अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका छन् ।

यो अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनैपनि इजलास तोकिएको छैन ।