आन्तरिक उडानको बन्द फिर्ता, मागबारे वार्ता जारी रहने



काठमाडौँ । अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट वायुसेवा सञ्चालकहरू पछि हटेका छन् । हडताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएको थियो ।

प्रधानमन्त्री कार्यालयको पहलमा सरकार र संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापासहितको वायुसेवा सञ्चालकहरूको टोलीबीच मंगलबार राति वार्ता भएको थियो। मध्यरातमा वार्ता भएका कारण उडान बन्द नगर्ने बाहेक अन्य मागको विषयमा टुंगो नलागेको बताइएको छ। सरकारसँग बुधबार मध्याह्न पुनः वार्तामा बसी सबै विषय टुंगो लगाइने बताइएको छ। 


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा भीड बढेको भन्दै नागरिक उड्डयन प्राधिकरणले जहाजले काठमाडौंबाहिरै अनिवार्य रात्रि बिसान (नाइट स्टप) गर्नुपर्ने तथा पहिलो उडान उताको विमानस्थलबाट हुनुपर्ने निर्णय गरेको थियो । देशभर उडान गर्दै आएका नौवटा वायुसेवा कम्पनीका ५२ वटा विमानमध्ये २२ वटालाई मोफसलका ७ ठाउँमा ‘नाइट स्टप’ गर्न भनिएको थियो । त्यस्तै ११ वटा हेलिकोप्टर कम्पनीका ३८ मध्ये २१ वटालाई दुर्गम तथा पहाडका चार विमानस्थलमा बस्न भनिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यावहारिक निर्णय भएको भन्दै संघले बुधबारदेखि अनिश्चितकालका लागि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो।