हातहतियार र लेनदेन मुद्दाका दुई पक्राउ



नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले छुट्टाछुट्टै मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेले हातहतियार तथा खरखजाना मुद्दा र लेनदेन मुद्दाका उनीहरुलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

जिल्ला अदालत बाँकेले हातहतियार तथा खरखजाना मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद सजाय सुनाएका डुडुवा गाउँपालिका–६ का ४५ वर्षीय पहलमान पासीलाई जिल्ला प्रहरी बाँकेको टोलीले पक्राउ गरेको हो ।


जिल्ला अदालत बाँकेबाट विसं २०७२ कात्तिक १ गतेको फैसलाबाट दोषी ठहर भएर जेल सजाय सुनाइएका लामो समयदेखि फरार रहँदै आएका पासीलाई नेपाल भारत सीमा नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

त्यस्तै बाँके प्रहरीले लेनदेन मुद्दाका अर्का एक फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेबाट विसं २०७९ जेठ ५ गते राप्तीसोनारी गाउँपालिका–४ का ४८ वर्षीय लुराम थारूलाई लेनदेन मुद्दामा दोषी ठहर गर्दै एक वर्ष जेल सजायको फैसला सुनाएको थियो ।

जेल सजायको फैसला आएयता फरार रहँदै आएका थारूलाई आज बाँकेबाट प्रहरीले पक्राउ गरेको हो । हातहतियार तथा खरखजाना र लेनदेन मुद्दाका फरार प्रतिवादी पासी र थारूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।