आईजीपी विवाद हेर्दाहेर्दैमा, असार १३ गते सुनुवाइ हुने



काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज बहस नसकिएपछि  हेर्दाहेर्दैमा राखिएको छ। उक्त रिटको यही असार १३ गते सुनुवाइ हुने भएको छ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजालसमा उक्त विवादबारे आइतबार सुनुवाइ गर्दा पक्षको बहस नै नसकिएको हुनाले हेर्दाहेर्दैमा राखिएको हो। आज रिट निवेदकका तर्फबाट १३ कानुन व्यवसायीले बहस गरेका थिए।


प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। 

रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ। गत वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।

न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते उक्त विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो।