टेक्ससका लागि पर्यटन दूतमा एनआरएन अभियानकर्मी सुवेदी नियुक्त



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली (एनआरएन) अभियानकर्मी रामकुमार सुवेदीलाई टेक्सस, अमेरिकाका लागि अवैतनिक पर्यटन दूतमा नियुक्त गरेको छ ।

नेपाल सरकारको पर्यटन मन्त्रीस्तरीय यही जेठ १ गते (१५ जुन २०२२) को बैठकले उनलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो । मन्त्रालयले सुवेदीलाई दिएको नियुक्तिपत्रमा नेपाली दूतावास, गैर आवासीय नेपाली सङ्घ, पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित सरोकारवाला निकायसँगको सहकार्यमा नेपालको पर्यटन प्रवद्र्धनका लागि योगदान पुर्‍याउने विश्वास गरिएको छ ।


झापाको अर्जुनधारा नगरपालिकामा जन्मेका सुवेदी दुई दशकअघि स्थायी अनुमतिपत्र सहित सपरिवार अमेरिका पुगेका थिए । उनी गैरआवासीय नेपाली सङ्घ अमेरिकाज क्षेत्रीय उपसंयोजक हुन् भने विगतमा गैरआवासीय नेपाली सङ्घ अमेरिकाको उपाध्यक्षलगायत विभिन्न पदमा रहेर काम गरिसकेका छन् । कविता, गीत, गजल र मुक्तक लेख्ने सुवेदी नेपाली साहित्यमा राम अविरामको नाममा सुपरिचित छन् ।

सुवेदीले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूणर् भूमिका निर्वाह गर्ने मन्त्रालयले अपेक्षा गरेको छ । नवनियुक्त पर्यटन दूत सुवेदीले अमेरिकाका लागि नेपालको अवैतनिक पर्यटन दूतको पदमा नियुक्त गरिदिमा पर्यटनमन्त्री प्रेमबहादुर आलेप्रति आभार प्रकट गरेका छन् ।

उनले आफूमाथि मन्त्री आलेको अटल विश्वासलाई सदा कायम राख्ने, नेपाल र नेपालीको शीर सदा उच्च राख्ने एवं नेपालको उन्नति प्रगतिमा हिजोभन्दा आज अझ बढी गर्न सक्ने आँट र अठोट समेत गरेका छन् ।