ओली सरकारका पालामा एसपीपी अगाडि बढेको प्रमाणित गर्न एमालेको चुनौती



काठमाडौँ । नेकपा एमालेका सांसद ईश्वर पोखरेलले अमेरिकाको स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) एमाले सरकारका पालामा अगाडि बढेको प्रमाणित गर्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा पोखरेलले एसपीपी प्रस्ताव पठाउँदा सन् २०१५ मा सुशील कोइराला प्रधानमन्त्री र २०१७ मा शेरबहादुर देउवा प्रधानमन्त्री रहेको दाबी गरेका हुन् ।


बिहीबार आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारकै पालामा एसपीपी सम्झौता भएको दाबी गरेका थिए । पोखरेलले एमाले सरकारका पालामा अगाडि बढेको प्रमाण पेस गरे जिम्मेवारी लिन तयार रहेको बताए ।

उनले भने,‘त्यतिबेला सकारात्मक ढंगले प्रस्ताव पठाउनेहरू अहिले गलत कुराहरू जो बोलिरहनुभएको छ ।  एमालेप्रति संकेत गर्दै जुन आक्षेप लगाउनुभएको छ म निन्दा गर्न चाहन्छु । म चुनौतीका साथ भन्न चाहन्छु केपी ओली नेतृत्वको सरकारमा म उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ । यदि त्योबेला कुनैपनि सकारात्मक कुरा, त्यसका लिखत, वक्तव्यहरू, माइन्युटहरू केही भए यो संसदसमक्ष प्रस्तुत गरियोस् त्यसको जिम्मेवारी लिन हामी तयार छौं ।’

ओली सरकारका पालामा यो विषय उठ्दा कार्यदल निर्माण गरेको उनले बताए । उनले भने, ‘हिम्मत छ भने केपी ओलीको पालामा भएको हो भनेर प्रस्तुत गर्नुस् । होइन भने उहाँले गैरजिम्मेवार ढंगले बोलेकोमा क्षमा माग्नुपर्छ ।’