बेलायतविरुद्ध इयुको कानुनी कारबाही



युरोपेली सङ्घ (इयू)बाट बेलायत बाहिरिँदा दुवैपक्षबीच भएका सम्झौताका केही अंशलाई बेलायतले एकतर्फीरूपमा अस्वीकार गरेपछि बेलायतविरुद्ध इयूले कानुनी कारबाही शुरू गरेको छ ।

बेलायतले आफ्नो भूमिबाट उत्तरी आयरल्याण्ड प्रवेश गर्ने केही सामानमा भन्सार जाँचका प्रावधान एकतर्फीरूपमा हटाउन खोजेपछि इयूले कानुनी कारबाही शुरू गरेको हो । यद्यपि युरोपेली आयोगले समस्याको संयुक्त समाधान अदालत बाहिर खोज्नुपर्नेमा जोड दिएको छ ।


बेलायतको एकपक्षीय निर्णयले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको र त्यो अस्वीकार्य भएको इयूले बताएको छ । युरोपेली आयोगका उपाध्यक्ष मारोस सेफकोभिचले आज यहाँ भएको पत्रकार सम्मेलनमा उत्तरी आयरल्याण्डको ‘प्रोटोकल’ भित्र रहेर समस्याको समाधान खोजिुनपर्ने बताए ।

उक्त प्रोटोकल ब्रेक्जिट सम्झौताको एक अंश हो जसले मालसामानहरूका लागि उत्तरी आइयल्याण्डलाई इयूको एकल बजारमा समावेश गरेको छ । विवाद समाधान हुन नसकेमा बेलायतका सामानहरूमा भन्सार लगाउन सकिने जनाउँदै उपाध्यक्ष सेफकोभिचले बेलायतबाट नयाँ–नयाँ माग आएका बताए ।