स्वास्थ्य बिमा कार्यक्रम निजी कम्पनीलाई दिन्नँ : स्वास्थ्यमन्त्री खतिवडा



काठमाडाैँ । स्वास्थ्य जनसङ्ख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा कार्यक्रम कम्पनीलाई नदिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफमा उनले विनियोजन विधेयकमा निजी कम्पनीलाई स्वास्थ्य बिमा कार्यक्रम दिने भने पनि आफूले उक्त निर्णय कार्यान्वयन नगर्ने बताए । “कम्पनीलाई स्वास्थ्य बिमा कार्यक्रम दिने बजेटमा उल्लेख भएको कुरा म लागू गर्दिनँ”, उनले भने, “स्वास्थ्य ऐनले जे भनेको छ त्यही गर्छु ।”


उनले स्वास्थ्य सबै प्रतिष्ठानलाई एउटै छातामुनि राख्नका लागि ऐन ल्याउन थालिएको जानकारी दिए । उनले छाता ऐनको मस्यौदा गरिरहेको बताए ।

मन्त्री खतिवडाले आकस्मिक सेवामा आएका बिरामीलाई पैसा नभए पनि उपचार गर्ने गरेको बताए । “हामीकहाँ भएका बिरामीलाई पैसा नभएका कारणले फिर्ता गरेका छैनौँ”, उनले भने, “पैसा नभए पनि हामीले बिरामीलाई उपचार गरेका छौँ । अस्पताल पुगेपछि हामीले पैसा भएका नभएका बिरामीको उपचार गरेका छौँ ।”

मन्त्री खतिवडाले कोरोना भाइरस सङ्क्रमणको आउने महामारीको तयारी अवस्थामा बसेको बताए । “अक्सिजन, सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर तयारी अवस्थामा राखेका छौँ”, उनले भने, “हामीसँग बनेका संरचना र जनशक्तिले महामारीको अघिल्लो पटकको चापलाई सजिलै थेग्न सकिन्छ ।”