मनोज पाण्डेविरुद्ध दुई मुद्दा दायर : १८ वर्ष कैद सजाय गर्न माग दाबी



काठमाडौँ । आठ वर्षअघि सौन्दर्य प्रतियोगीलाई बेहोस बनाएर बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा दुईवटा छुट्टाछुट्टै मुद्दा दायर भएका छन् । 

बुधवार मानव बेचबिखन र बाल यौन दुर्व्यवहारकाे कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगा प्रसाद पौडेलले जानकारी दिए ।


कपिलवस्तु घर भएका पाण्डेलेसन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई आयोजक पाण्डेले होटलमा बोलाएर नशालु पदार्थ खुवाई बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेकी थिइन् । पाण्डेविरुद्ध अर्की एक नाबालिगले पनि यौन दुर्व्यवहारको जाहेरी दिएकी छिन् ।

घटना सार्वजनिक भएपछि पक्राउ परेका पाण्डेविरुद्ध प्रहरीले अनुसन्धान सकेर मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । मानव बेचबिखन मुद्दामा १० देखी १५ वर्ष र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा अधिकतम ३ वर्ष कैद सजाय गर्न माग दाबी लिइएको सरकारी वकिल कार्यालयका प्रमुख पौडेलले जानकारी दिए ।  बिहीबार अदालतमा बयान पछि पाण्डेको मुद्दामा थुनछेक बहस सुरु हुन्छ ।