मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ : मन्त्री यादव



काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले सांसदका जिज्ञासाको जवाफ दिँदै कृषि उत्पादनको पछिल्लो अवस्था र मागसम्बन्धी तथ्याङ्क पेश गर्दै बजेटमा प्रवद्र्धनका विभिन्न कार्यक्रम रहेको अवगत गराए ।

उनले कृषि पेशालाई सम्मानित, मर्यादित र नाफामूलक बनाइ आत्मनिर्भर बनाउने, यस क्षेत्रका पूर्वाधार विकास गर्ने, किसान सुरक्षा कार्यक्रमअन्तर्गत किसानलाई पेन्सन प्रदान गर्नका लागि सूचीकरण गर्न बजेट विनियोजन गरिएको स्पष्ट पारे । गहुँ, कुखुराको मासु र अण्डामा अहिले करिब आत्मनिर्भरको अवस्था रहेको बताउँदै मन्त्री यादवले आगामी दुई वर्षमा आधारभूत खाद्यान्नमा आत्मनिर्भर बनाउने गरी बजेटमा कार्यक्रम प्रस्ताव गरिएको बताए ।


पशुपक्षी बीमा र २०७९ साललाई कृषि जैविक विविधताको वर्षकारुपमा मनाउन बजेटमा प्रस्ताव गरिएको जानकारी गराउँदै उनले गतवर्ष धानबालीमा वर्षाले गरेको क्षतिको राहत दिने बारेमा लागत तयारी गरी गृहमन्त्रालय पठाइसकेको र त्यसका लागि रु पाँच अर्ब छुट्याइसकेको जानकारी गराए । उनले आफ्नो मन्त्रालयको कार्यक्षेत्रअनुसार उखुको मूल्य निर्धारण गरी उद्योग मन्त्रालय पठाइसकेको स्पष्ट पार्दै मलखादको वितरणलाई पारदर्शी बनाउनका लागि अनलाइनको व्यवस्था गर्न निर्देशन गरिसकेको समेत बताए ।

स्वदेशमै रासायनिक मल कारखाना कहिले स्थापना हुन्छ भन्ने विज्ञासामा उनले त्यसका लागि बजेट छुट्याइएको र यो उद्योग मन्त्रालयसँग सम्बन्धित भएको साथै लगानी बोर्डमासमेत छलफल अघि बढेको स्पष्ट पारे ।

बैठकमा सांसद गङ्गा चौधरी सत्गौवा, निरुदेवी पाल, झपटबहादुर रावल, विमला विश्वकर्मा, प्रेम सुवाल, घनश्याम खतिवडा, खेमप्रसाद लोहनी, बिमला विक, पार्वता डिसी चौधरी, डा डिला सङ्ग्रौला पन्त, रामेश्वरराय यादव, प्रमोद साहले स्पष्टिकरण माग गरेका थिए ।