दश वर्ष इजरायल बस्दा सिकेको सीप : तेल र मसलाबिनाको अचार



चितवन । अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छौँ । तर तेल र मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौला ।

भरतपुर महानगरपालिका–४ आनन्दपुर निवासी पूर्णकला सुवेदी चापागाईँले अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थालेकी छन् । दश वर्ष इजरायल बस्दा सिकेको सीपलाई उनले अहिले नेपालमा आएर प्रयोग गर्न थालेकी हुन् । रोजगारीको सिलसिलामा इजरायल पुगेकी चापागाईँले जहाँ काम गरिन् त्यही घरकी छोरी रुजा लिङ्दाले बनाएको अचार देखेर यो सीप सिकेकी हुन् ।


सन् २००६ मा रोजगारीका लागि गएकी चापागाईँ सन् २०१६ मा नेपाल फर्किन् । त्यसपछि पुस्तक व्यवसाय गरेकी उनी दुई वर्षपछि पर्वतमा भएको दुर्घटनामा परिन् । दुर्घटनामा परी गम्भीर घाइते बनेकी चापागाइँले अहिले आफ्नो शरीरमा केही सुधार भएपछि आफूले विदेशमा सिकेको सीपलाई प्रयोग गर्न थालेकी हुन् । 

चापागाईँ अहिले तेलबिना काँक्रो, खुर्सानी, गाँजर, चुकन्दरलगायतका अचार बनाइहेकी छन् । यी खाद्यवस्तुलाई उसिनेर घाममा सुकाएर अचार बनाउने गरेको उनले बताइन् । उठेर खासै हिँडडुल गर्न नसक्ने उनले आफ्नो सीपको प्रयोगका लागि छोराको साथ लिएकी छन्। कृषि विषय अध्ययन गर्दै आएका छोरा प्रशन्नले अहिले आमालाई पूर्णरूपमा साथ दिइरहेका छन्। 

व्यवसाय राम्रो भएमा आमालाई काममा सघाउन कर्मचारी राखेर काम अघि बढाउने उनको योजना छ । अचार बनाउनका लागि नुन, लसुन, अमिलोलगायतका सामग्रीमात्रै प्रयोग गर्ने गरिएको उनले बताए । 

खाँदा नयाँ स्वाद पाउने भएकाले अहिले तत्काल मन नपर्न सक्ने भन्दै उनले केही दिनमा व्यावसायिकरूपमा उत्पादन गरेर अचारलाई बजारमा लैजाने बताए ।  अहिले चितवन, पोखरालगायतका स्थानबाट माग आइरहेको बताइएको छ ।