एमाले अहिले कसैलाई प्रधानमन्त्री अफर गर्ने मूडमा छैन : उपमहासचिव ज्ञवाली



काठमाडौँ । नेकपा एमालेले वाम गठबन्धनको पक्षमा एमाले नरहेको स्पष्ट पारेको छ । सोमबार बसेको पार्टी सचिवालय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले वाम गठबन्धनका पक्षमा एमाले नरहेको प्रष्ट पारेका हुन् ।

माओवादी केन्द्रका नेताहरुसँग छलफल गरिरहेको पृष्ठभूमिलाई मध्यनजर गर्दै उनले आस्थाका कम्युनिष्टसँग सहकार्य हुन सक्ने बताए । उनले भने, ’अहिलेलाई वाम गठबन्धन सम्भव छैन। त्यतातिर छलफल गरिएको छैन। विषयमा सहकार्य हुन सक्छ।’


नेकपा एमालेले कसैलाई प्रधानमन्त्रीको अफर गर्न नसक्ने उनले बताए । ती समाचारका कुनै सत्यता नभएको उल्लेख गर्दै ज्ञवालीले भने,’ हामीले कसैलाई प्रधानमन्त्री अफर गरेका छैनौँ । नेकपा एमाले अहिले कसैलाई प्रधानमन्त्री अफर गर्ने मूडमा छैन, अफर गर्न चाहँदैन आवश्यक ठान्दैन । यो नेपाली कांग्रेससँग बार्गेनिङ बढाउने कुरा मात्र हो । हामीलाई यताबाट यति अफर आएको छ भन्नै आगामी चुनावमा ५० प्रतिशत सिट दिने कि नदिने भनेर बार्गेनिङ बढाउने सुनियोजित प्रचारबाजी मात्रै हो । एमाले यस्ता धन्दामा छैन ।’

बैठकले स्थानीय तहको प्रमुख र उपप्रमुखमा अपेक्षित परिणाम नआए पनि पार्टी देशको प्रमुख शक्तिका रुपमा स्थापित भएको निष्कर्ष निकालेको छ । बैठकले कयौं ठाउँमा स्वस्थ, मर्यादित र स्वतन्त्र र निष्पक्ष रुपमा चुनाव हुन नसकेको निष्कर्ष पनि निकालेको छ । ज्ञवालीले निर्वाचनमा सत्ताको चरम दुरुपयोग भएको निष्कर्ष निकालेको बताए ।