विद्युत् सर्ट भएर आगलागी हुँदा दोलखामा वृद्धाको मृत्यु



चरीकाेट । दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक जनाको मृत्यु भएको छ । शैलुङ गाउँपालिका–१ को एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा घरमा रहनुभएको ८५ वर्षीया निदकुमारी मगरको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा विद्युत् सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको आज मृत्यु भएको प्रहरीले जनाएको छ । घरको छुट्टै कोठामा वृद्धा एक्लै सुत्ने गरेको र घरमा आगलागी भएपछि स्थानीयवासीले उद्धारको प्रयास गरे पनि निसासिएर उनको घरभित्रै मृत्यु भइसकेको स्थानीयवासी बताएका छन् ।


बिहानीको समयमा घरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी घर पूर्ण रुपमा नष्ट भएको छ भने घरमा रहेको बाख्रा तथा कुखुरासमेत जलेर मरेका छन् । आगलागीबाट के कति क्षति भयो भन्ने बारेमा विवरण सङ्कलन भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।