संसदबाट विशेष प्रस्ताव पारित : मल ल्याउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन



काठमाडाैँ । किसानलाई रासायनिक मल सहजरूपमा उपलब्ध गराउन संसद्ले सरकारलाई विशेष निर्देशन दिएको छ । प्रतिनिधिसभाको आजको बैठकले कृषकलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको हो ।

सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेस गरेको सार्वजनिक जरुरी महत्वको प्रस्तावमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले विशेष प्रस्ताव पेश गरेका हुन् । सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पास भएको हो । 


‘‘रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको छ । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि संभाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।,’’ निर्देशनमा भनिएको छ ।