‘अलिअलि तिमीसँग’ म्युजिक भिडियो सार्वजनिक



काठमाडाैँ । गायक सजल न्यौपाने र गायिका प्रविशा अधिकारीको युगल गायनको रोमाञ्चक शैलीको ‘अलिअलि तिमीसँग’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा हाल अस्ट्रेलियामा रहेका गीतकार सक्रिय श्रेष्ठको शब्द रहेको छ । शास्त्रीय सङ्गीत समिश्रण रहेको यस गीतमा गायक न्यौपानेकै सङ्गीत रहेको छ । गीतको एरेञ्ज रिदम कँडेलले गरेका हुन् । म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र पूजा गिरीको अभिनय छ ।


‘तिमीलाई ठेस लाग्दा…’, ‘सातै जुनी साथ दिन्छु भनी भन्नु पर्छ र ?’, ‘नियाली हेर मेरा भावना.. ’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश छ । बुद्ध थापाले खिचेकाे भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । ‘सक्रिय क्रियशन’ नामक युटुयुव च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

यसअघि गीतकार श्रेष्ठको शब्दमा ‘कुरा नगरेकै जाति’ र ‘सपनाको रङ्ग’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । निर्माण समूहले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।