प्रशारण लाइनमा मान्छे चढेपछि माथिल्लो त्रिशुलीको उत्पादन बन्द (भिडियोसहित)



नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा एक व्यक्ति विद्युतको पोल हुँदै विद्युत प्रसारण लाइनमा चढेपछि ६० मेगावाटको त्रिशुली थ्री–ए आयोजना नै बन्द भएको छ । शनिवार बिहान करीब १० बजेतिर नुवाकोटकै बोलकोटगढी नगरपालिका वडा नम्बर–१३ का स्थानीय माइला विक ककनीको चतुराले भन्ने ठाउँबाट विद्युतको पोलमा चढेका थिए ।

विद्युतको पोलबाट हाइटेन्सन प्रसारण लाइनमा गएर उनले प्रसारण लाइनको तार हल्लाउने र हिँड्ने काम गरिरहेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिए । प्रहरीले उनलाई ओराल्ने प्रयास गरिरहेको भए पनि अहिलेसम्म ओराल्न सकिएको छैन ।ती व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको खुलेको तामाङले बताए ।


विद्युतको तार हल्लाइरहेका उनलाई स्थानीय बासिन्दा र प्रहरीले बियर खुवाउने, पैसा दिने भनेर फकाउने प्रयास गरिरहेको भए पनि उनी प्रसारण लाइनको तारबाट ओर्लिन नमानेको तामाङले बताए । ती व्यक्ति चढेको पोलमा त्रिशुली थ्री–ए आयोजनाबाट काठमाडौंमा विद्युत ल्याइएको २२० केभी प्रसारण लाइन जडान भएको छ ।

उक्त प्रसारण लाइनमा डबल सर्किट छ । प्रसारण लाइनमा चढेका व्यक्तिलाई करेन्ट लाग्न सक्ने डरले त्रिशुली थ्री–ए आयोजना नै बन्द गरेर बस्नुपर्दा काठमाडौंमा विद्युत आपूर्तिमा समस्या हुन थालेको विद्युत प्राधिकरणले बताएको छ ।