कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउर गणना सुरु



फुङ्लिङ । ताप्लेजुङको कञ्चनजंघा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गर्न थालिएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना कार्य थालिएको हो ।

कञ्चनजङ्घा क्षेत्रमा नाउरको बासस्थान तथा चरणको अध्ययन अवलोकन गर्न चार वटा क्षेत्रमा विभाजन गरेर नाउर र हिउँ चितुवाको बासस्थान तथा चरणको अवस्थाबारेमा अध्ययन विगतदेखि नै गर्दै आएको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । ओलाङचुङगोला, याङमा, घुन्सा र याम्फुदिन ब्लकमा विभाजन गरेर संरक्षणमा पाइने वन्यजन्तुको निरीक्षण हुँदै आएको चेम्जोङले बताए ।


संरक्षण क्षेत्रका चार ब्लकमा हिउँ चितुवा अनुगमन उपसमिति गठन भएको छ । नाउर र हिउँ चितुवा लागयतका वन्यजन्तुको निरीक्षण गर्ने जिम्मेवारी हिउँ चितुवा उपसमितिलाई दिइएको घुन्सा ब्लक हिउँ चितुवा उपसमितिका अध्यक्ष पेमा शेर्पाले बताए । वन्यजन्तुबाट घरपालुवा जनवाहरुमा क्षति पुग्यो भने उपसमितिले अवलोकन गरेर राहत उपलब्ध गराउँदै आएको शेर्पाले बताए ।

वन तथा वन्यजन्तु प्राविधिक र स्थानीय हिउँ चितुवा उपसमिति पदाधिकारीहरु नाउर गणनामा परिचालन भएका छन् । ब्लक विभाजन गर्दा एक क्षेत्रको वन्यजन्तु आर्को ब्लकमा नजानका लागि हिमाल, खोला आदिका आधारमा क्षेत्र सिमाङ्कन गरिएको छ । त्यसले गणनामा दोहोरिने कम सम्भावना रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सचिव मनकुमार लिम्बूले बताए ।

समुन्द्र सतहदेखि पाँच हजार मिटरभन्दा माथिको उचाइको हिमाली क्षेत्रमा पाइने वन्यजन्तु नाउरको हालको अवस्था र नाउरको गणना कार्य भइरहेको व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुले बताए । नाउर गणनाको विवरण आउने भने केही समय लाग्ने कार्यालयले जनाएको छ ।

नाउरको सङ्ख्या बढ्दै

विसं २०७३ मा दुई हजार २०० को सङ्ख्यामा नाउर रहेको परिषद्को तथ्याङ्कले जनाएको छ । विसं २०७७ को नाउर गणनामा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा समुद्र सतहदेखि तीन हजार ५०० मिटरदेखि माथिका स्थानमा नाउर पाइने गरेको उल्लेख छ । तीन ब्लक क्षेत्रमा नाउर गणना गर्दा एक हजार ४२१ वटा रहेको संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी तथा रेन्जर धर्मेन्द्र थापाले बताए  । कोभिड–१९को कारणले ओलाङचुङगोला ब्लक क्षेत्रमा भने गत वर्ष नाउर गणना हुन सकेन ।

घुन्सा खम्बाछेन ब्लक क्षेत्रमा ६४२ वटा नाउर रहेको गणनाको तथ्याङ्कमा छ । याङमा ब्लक क्षेत्रमा ५३२ वटा र रामजेल ब्लक क्षेत्रमा २४७ वटा नाउर रहेको परिषद्को कार्यालयले जनाएको छ । पोथी नाउरभन्दा भाले नाउरको सङ्ख्या दोब्बर बढी रहेको कार्यालयले जनाएको छ । ४९५ वटा पोथी तथा ८१६ वटा भाले रहेको छ । ८० वटा बच्चा रहेको छ । २७ वटा नाउर भालेपोथी नछुट्टिएका नाउर रहेका छन् । २०८ वटा वयस्क भाले, २०७ वटा नाउर तरुण तथा २०६ वटा नाउर किशोर अवस्थाको रहेको तथ्याङ्कले जनाएको छ । त्यस्तै १९८ वटा अर्धवयस्क उमेरका छन् ।

कञ्चनजङ्घा क्षेत्रमा घुन्सादेखि पाङपेमा बेस क्याम्पसम्मको क्षेत्रलाई घुन्सा–खम्बाछेन, याम्फुदिनको रामजेल, चेइरामदेखि कञ्चनजङ्घा हिमालको पूर्वी बेस क्याम्पको क्षेत्रलाई राम्जेर, ओलाङ चुङ्गोलाको याङमा क्षेत्रलाई याङमा र ओलाङचुङगोलादेखि मौवाटार हुँदै चीनको तीब्बतसँगको सिमानालाई गोला मौवाटार ब्लक क्षेत्रमा विभाजन गरेर संरक्षण क्षेत्र व्यवस्थापन परिषदले विगत देखि नै नाउरको गणना गर्दै आएको फेम्बुले बताए ।

समुद्र सतहदेखि तीन हजार ८०० मिटरको उच्च हिमाली क्षेत्रमा नाउरको चरन क्षेत्रमा टेलिस्कोपबाट हेरेर नाउरको गणना गरिदै आएको छ । अझ पानी पिउन खोलामा झरेको र चरनको मौका छोपेर गणना गरिन्छ । सामान्यतया मौसम सफा भए १५ देखि २० दिनको अवधिमा गणना सकिने कञ्चनजङ्घा क्षेत्रले जनाएको छ

संरक्षण क्षेत्रमा विसं २०६० मा १२ वटा हिउँ चितुवा रहेको अनुमान गरिएकोमा अहिले यो बढेर कम्तीमा पनि २९ पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्रले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कोषको सहयोगमा गरिएको ‘क्यामरा ट्रयाप’ र अन्य परीक्षणले सो संरक्षण क्षेत्रभित्रका ओलाङचुङगोला, लेलेप, याम्फुदिन क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या २० देखि २९ सम्म रहेको संरक्षण क्षेत्रको अनुमान रहेको छ । हिउँ चितुवाको मलमुत्र परीक्षणका आधारमा पनि त्यसक्षेत्रमा उक्त सङख्यामा हिउँ चितुवा रहेको परिषद्को कार्यालयले जनाएको छ ।