जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचन गराउन आयोगलाई सिफारिस गर्ने निर्णय



मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आज बसेको बैठकले निर्वाचन आयोगलाई निर्वाचन गराइदिन सिफारिस गर्ने निर्णय गरेको छ ।

ज्येष्ठ सदस्य देवकृष्ण पुडासैनीको अध्यक्षतामा बसेको बैठकले नौ सदस्यीय समिति गठन हुने गरी निर्वाचन प्रक्रिया सम्पन्न गराइदिन निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


त्यस्तै बैठकले स्थानीय तहको निर्वाचन २०७९ सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृत र मतदान अधिकृत तथा निर्वाचन प्रक्रियामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेको छ । साथै बैठकले जिससका पूर्वपदाधिकारीलाई धन्यवाद ज्ञापन गर्ने निर्णयसमेत गरेको छ ।

जिससको निर्वाचनमा मकवानपुरको १० वटा पालिकाका प्रमुख र उपप्रमुख गरी कूल २० जना मतदाता रहने व्यवस्था रहेको छ । स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको सङ्ख्या हेर्दा नेपाली कांग्रेसको नौ, नेकपा (माओवादी केन्द्र)को सात, नेकपा (एमाले) को तीन र नेकपा (एकीकृत समाजवादी) को एक जना मतदाता रहेका छन् ।