अन्तर्राष्ट्रियस्तरको विद्युत् वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माणाधीन



काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले सेवालाई अत्याधुनिक सूचना प्रविधिको भरपुर प्रयोग गरी कागजरहित बनाउने उद्देश्यका साथ आफ्ना गतिविधि केन्द्रित गरेको छ । प्राधिकरणले सेवालाई सहज, सर्वसुलभ, प्रभावकारी बनाउने लक्ष्यका साथ  ‘डिजिटल एनइए’ अवधारणामार्फत काम गरिरहेको छ ।

प्राधिकरणले विद्युत् वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्रको निर्माण अन्तिम चरणमा पुगाएको छ । प्राधिकरणले उपत्यकामा जडान गरिरहेको स्मार्ट मिटरको सहज सञ्चालनका लागि पनि त्यसले काम गर्नेछ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न सुविधा सम्पन्न केन्द्र निर्माण गरिएको जनाएको छ । काठमाडौंको स्युचाटारस्थित भारप्रेषण केन्द्रसँगै आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको केन्द्र निर्माणाधीन छ । केन्द्रको निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । 


उक्त केन्द्रमा काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित गराउन निर्माणाधीन भूमिगत वितरण प्रणालीको नियन्त्रण कक्ष रहने छ । यसमा उपत्यकाका सबस्टेशन तथा स्विचिङ स्टेशन जोडिनेछन् । केन्द्रबाटै ११ केभीभन्दा मुनिका ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ । साथै त्यहाँ अन्तर्राष्ट्रिय स्तरको डाटा सेन्टर रहनेछ, जहाँ प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भर लगायतका सबै डाटाहरु एकीकृत रुपमा रहनेछन् । 

‘प्री फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिने वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र भवनको सिभिल संरचनाको निर्माण सम्पन्न भएको छ । तीन तलाको भवनमा डाटा सेन्टर, नियन्त्रण कक्ष र कार्यालय रहनेछन् । सिभिल संरचनाको निर्माण सम्पन्न भएकाले अब केन्द्रमा राखिने उपकरणको जडान सुरु हुने र यसका लागि थप दुई/तीन महिना लाग्ने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण कार्यको स्थलगत अनुगमन गरी प्राधिकरणको सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजना महत्वपूर्ण भएकाले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे ।