सीमा क्षेत्रबाट उद्धार गरिएका युवकको उपचारका क्रममा मृत्यु



कञ्चनपुर । पुनर्वास नगरपालिका–११ डोकेबजारबाट बेहोस अवस्थामा उद्धार गरिएका नाम वतन खुल्न नसकेका अन्दाजी ३५ वर्षीय युवकको उपचारका क्रममा आज मृत्यु भएको छ ।

नेपाल भारत सीमा क्षेत्र डोकेबजारबाट भारतीय सीमा सुरक्षा बल एसएसवीले बेहोस अवस्थमा रहेका युवकलाई सोमबार राति नेपाल प्रहरी जिम्मा लगाएको थियो । तत्कालै प्रहरीचौकी परिसरबाट खटी गएको टोलीले युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पु¥याएको थियो । उपचारका क्रममा युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए । युवकको शव सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा राखिएको छ ।


प्रहरी नायब उपरीक्षक शाहका अनुसार मृतकको वर्ण गहुँगोरो, उचाइ पाँच फिट, कपाल कालो, अनुहार गोलो, रातो पाइन्ट, कालो रातो बुट्टेदार हाप टिसर्ट लगाएको बाँया गालामा कोठी र बोके दाह्री र जुङ्गा भएको हुलिया रहेको छ । मृत्युको कारण भने खुल्न सकेको छैन । युवकको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीको भनाइ रहेको छ । प्रहरीले उक्त हुलिया भएको व्यक्तिलाई कसैले आ–आफ्नो वडा एरियामा देखे वा चिनेमा मृतकको घरपरिवार वा प्रहरी कन्ट्रोल १०० मा खबर गरिदिनसमेत अनुरोध गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।