ओली र देउवापछि काठमाडौँका मेयर बालेनले भेटे प्रचण्ड



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर बालेनले भेट गरेका हुन् ।

भेटमा बालेन्द्रले प्रचण्डलाई सहयोग गर्न आग्रह गरेका थिए। जवाफमा प्रचण्डले बालेन्द्रलाई स्वतन्त्रबाट जितेर पनि सबैलाई मिलाएर सहकार्य गर्ने काम गरेको भन्दै आफूले पनि साथ दिने बताए ।


‘पहिलेका मेयरहरू स्वतन्त्रबाट जितेपनि पार्टीलाई गाली गर्ने प्रणाली थियो तर तपाईले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सह्रानिय छ हाम्रो साथ र सहयोग हुने छ’ प्रचण्डको भनाइ उदृत गर्दै सचिवालय स्रोतले भन्यो । 

‘तपाई जस्तो युवाले नेतृत्व लिनु धेरै खुसीको कुरा हो, यसले माओवादी सिंगो पार्टी र म खुसी छौं,’ प्रचण्डको भनाइ उदृत गर्दै सचिवालय स्रोतले भन्यो, ‘अब तपाईँले कसरी हुन्छ जनताको समस्या समाधानमा ध्यान दिनुहोला, हामीले गर्ने सहयोग गर्नेछौं।’

भेटमा प्रचण्डले बालेनको प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ । केही दिनअघिमात्र प्रचण्डले बालेनको जित माओवादीको जस्तै एजेन्डा भएकोले सम्भव भएको बताएका थिए। आजको भेटमा पनि प्रचण्डले बालेनको जित क्रान्ति भएको बताए।

प्रचण्डले जनताको समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेसमेत बताए । यता बालेनले पनि अबको राजनीति कता मोड्ने भन्ने विषयमा मुख्य भूमिका प्रचण्डकै रहने बताए। केही दिनअघि बालेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए। त्यसअघि मतगणना भइरहेकै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।