तिङ्करमै कार्यपालिका बैठक राख्ने, कार्यालय प्रमुखलाई निम्तो



दार्चुला । व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले व्यास गाउँकार्यपालिका बैठक तिङ्करमै राख्ने बताएका छन् ।

सदरमुकाम खलङ्गाका कार्यालय प्रमुखसँगको परिचयात्मक कार्यक्रममा उनले सबैभन्दा विकट मानिने व्यास–१ को छाङ्ग्रु र तिङ्करमा कार्यपालिका बैठक राख्ने बताएका हुन् । “यो ठाउँमा अब कार्यपालिका बैठक राख्छु”, अध्यक्ष धामीले भने, “यो बैठकमा कार्यालय प्रमुखहरुलाई निम्तो हुन्छ, आइदिनुहोला ।” भारतीय भूमि भएर पनि कार्यालय प्रमुख र सरोकारवालालाई छाङ्ग्रु र तिङ्करमा लगेर बैठकमा राख्ने योजना रहेको उनले बताए ।


यो क्षेत्रका लागि राज्यले नेपालतिरबाट घोरेटोबाटो बनाउन सकेको छैन । सेनाले सडक निर्माण कार्य सुरु गरे पनि गति लिन सकेको छैन । “सडक र घोरेटोबाटो एकसाथ चाँडो बनाउन सबैले पहल गर्नुपर्छ”, उनले भने । राज्यले यो क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म पछिल्लो समय स्थापना गरेको छ । यसअघि नेपाल प्रहरी मात्रै राज्यको उपस्थितिका रूपमा रहेको थियो ।

सरकारले यो क्षेत्रलाई विशेष महत्व दिएको छ । छाङ्ग्रुका नागरिकका लागि खाद्यान्न डिपो भए पनि तिङ्करमा डिपो छैन । छाङ्ग्रुबाट तिङ्कर पुग्न पाँच घण्टाभन्दा बढी समय लाग्छ । नेपालतिर बाटो नहुँदा यहाँका नागरिक भारतीय भूमि हुँदै गाउँ पुग्नुपर्ने बाध्यता छ ।