नारायणकाजी श्रेष्ठको प्रश्न : एमसीसी खारेज भएको हो ?



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा हालसम्म एक शब्द पनि नबोलेको बताएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटसम्बन्धी छलफलमा भाग लिँदै उनले लप्सीवेदी,रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केभीको प्रशारण लाइन निर्माण गर्ने कार्य अगाडि बढाइने कुरा बजेटमा प्रस्तुत भएको तर एमसीसी योजनाअन्तर्गत हो वा एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले आफैँले प्रस्ताव राखेको भन्दै सरकारसँग जवाफ मागेका छन् ।


नेता श्रेष्ठले एमसीसी परियोजना अन्तर्गत १२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराए उनले प्रशारण लाइन निर्माण गर्ने कार्य अर्थमन्त्रीको व्यक्तिगत प्रस्ताव भएको खण्डमा सरकार र अर्थमन्त्री धन्यवादको पात्र रहेको बताए ।

उनले सरकारले यस बारेमा स्पष्ट पार्न आवश्यक रहेको बताए । उनले भने, ‘यो लप्सीवेदी,रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रशारण लाइन निर्माण गर्ने कार्य अगाडि बढाइनेछ भनेको छ, यो पहिला भनेजस्तै एमसीसीको योजना हो कि, आफैँले बनाउने भनेको हो ? त्यो प्रष्ट भएन । संसदबाट एमसीसी परियोजना पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा पारित गरिएको थियो । अमेरिकाले अहिलेसम्म मेरो जानकारीमा आउँदासम्म १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा एक शब्द बोलेको छैन । त्यसकारणले यो एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले यसरी आफैँले गर्ने प्रस्ताव राख्नुभएको हो भने मेरो व्यक्तिगत तर्फबाट अर्थमन्त्री र सरकारलाई धन्यवाद छ । तर यो के हो प्रस्ट हुनुपर्छ ।’

उनले नेपालको विकासको निम्ति बढी महत्वको कुरा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन भएको तर बजेटमा राम्रोसँग खुल्न नसकेको बताए । श्रेष्ठले बजेटमा सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको आरोप लगाए ।