शेयर बजार घट्ने क्रम रोकिएन, ३५ अंकले ओरालो लाग्यो



काठमाडाैँ । शेयर बजार आज मङ्गलवार पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से ३५.५३ अंकले घटेर २,१३७.९२ विन्दुमा पुगेको छ । यो विन्दु १७ महिनायताकै न्यून हो ।

आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । म्युचल फन्डको पनि जम्मा ०.४५ प्रतिशतले बढेको हो ।  बीमा, विकास बैंक, व्यापार र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।


दोहोरो अङ्कले बजार घटेको दिन दुई सय २९ कम्पनीको ३७ लाख ६९ हजार कित्ता शेयर एक अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर आज पनि १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि उपकार लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै साढे आठ प्रतिशतले बढेको छ ।